प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
कार्तिक २०८०
कुकुर तिहारको अवसर नेपाल प्रहरीको तालिम प्राप्त कुकुरहरूको पुजा कार्यक्रम सम्पन्न
२०८०-०७-२६

कुकुर तिहारको अवसरमा आज यस बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको केनाईन शाखामा रहेको अपराध नियन्त्रण र अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तालिम प्राप्त कुकुरहरूलाई बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको समुपस्थितिमा पुजा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, बागमती प्रदेश प्रहरी गणका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहज्यू, प्रहरी उपरीक्षक ईश्वर थापाज्यू, प्रहरी नायव उपरीक्षकज्यू, प्रहरी निरीक्षकज्यू लगायत विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थितिमा नेपाल प्रहरीका तालिम प्राप्त कुकुरहरूलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरू प्रदान गरी पुजा कार्यक्रम सम्पन्न भएको थियो । २०६९ सालमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा केनाईन शाखाको स्थापना भई हाल ४ वटा विभिन्न विधामा तालिम प्राप्त  र २ वटा तालिमरत कुकुरहरू गरी जम्मा ६ वटा नेपाल प्रहरीका सेवारत कुकुरहरू रहेका छन् ।

लागुऔषध गाँजा सहित ३ जना नियन्त्रणमा
२०८०-०७-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरिक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायणघाटबाट बिरगंज तर्फ जाँदै गरेको ना.४ख ५९२२ नं.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर मनहरी गाउँपालिका-८, बस्ने वर्ष अन्दाजी ४० को मंगल थोकर, सोहि बस्ने वर्ष अन्दाजी १८ को दिपक मोक्तान र सोहि बस्ने वर्ष अन्दाजी ५० को बुद्धि मोक्तानलाई शंका लागी चेकजाँच गर्दा तिनै जनाको  साथबाट ३/३ किलो गरी लागुऔषध गाँजा अन्दाजी ९ किलो फेला परेको थियो । लागुऔषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०७-१८

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व  पश्चिम  सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जान आउदै गरेको बा.प्र.-०३-००१ख १७२६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त बसको B साईडको ११,१२ नम्बरको सिटको अगाडीको पानी राख्ने पकेटमा लुकाई राखेको अवस्थामा खैरो हिरोईन जस्तो देखिने लागुऔषध ८ ग्राम(तौल गर्दा) फेला परेको हुदा उक्त सिटमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१२ नौरङगे बस्ने वर्ष अन्दाजी ३३ को बिशाल दराई र चितवन भरतपुर महानगरपालिका-९ बस्ने वर्ष अन्दाजी २३ को अमृत दुरा लाई सोधपुछ गर्दा लागुऔषधको विषयमा आफुलाई थाहा नभएको भनी जानकारी गराएकोले थप अनुसन्धान तथा सोधपुछको लागी लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिईएको छ ।

नवनिर्मित ईलाका प्रहरी कार्यालय गौरीशंकर, दोलखाको भवन समुद्घााटन
२०८०-०७-१६

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित ईलाका प्रहरी कार्यालय गौरीशंकर, दोलखाको कार्यालय भवन समुद्‍घाटन भएको छ । आज आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव श्री ध्रुव गैडाज्यूको प्रमुख आतिथ्यतामा नव-निर्मित कार्यालय भवनको समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा गौरीशंकर गाउँपालिका अध्यक्ष श्री विश्वास कार्कीज्यू, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री टुवराज पोखरेलज्यू ,बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री किरण राणाज्यू, विगु गाँउपालिकाका उपाध्यक्ष श्री देविका थामीज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्री ईश्वर थापाज्यू, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक श्री दिपक खड्काज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मीज्यू, स्थानिय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो । साथै भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने विभिन्न व्यक्तिहरुलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवज्यूबाट सम्मान स्वरुपप्रशंसा-पत्रसमेत प्रदान गर्नु भएको थियो ।नेपाल 

सवारी दुर्घटनामा परि २ को मृत्यु
२०८०-०७-१४

काभ्रे, पनौती नगरपालिका-२, सिलाभन्ज्याङ स्थित कुशादेवी बाट नयाँ गाउँ तर्फ जाँदै गरेको बा.४ ख.६७२३ नम्बरको पराल लोड निसान गाडीको ब्रेक फेल भई सडकबाट अन्दाजी ६०० मिटर तल खस्दा निसानमा सवार ३ जना घाईते भई उपचारको लागी सिर मेमोरीयल अस्पताल पठाएकोमा जिल्ला काभ्रे पनौती नगरपालिका-२, कुशादेवी बस्ने वर्ष ४० को रबिन आचार्य र सोहि बस्ने वर्ष ५० को शिव बिक्रम केसी आचार्यको उपचारको क्रममा मृत्यु भएको र बेथानचोक गाउँपालिका-२, बस्ने वर्ष ४५ की सारदा तिमल्सिनाको टाउको घाँटीमा चोट अवस्था गम्भिर रहेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

नवनिर्मित प्रहरी चौकी ढाँडे, सिन्धुपाल्चोकको भवन समुद्‍घाटन
२०८०-०७-१२

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित प्रहरी चौकी ढाँडे, सिन्धुपाल्चोकको कार्यालय भवन समुद्‍घाटन भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री गंगानारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा नव-निर्मित कार्यालय, ब्यारेक तथा मेश भवनको समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेश सभाका सदस्यहरु माननीय श्री सरल सहयात्री पौडेलज्यू, माननीय श्री अमृत नेपालज्यू, माननीय श्री कुमारी तामाङज्यू, आन्तरिक मामिला तथा कानून सचिव श्री ध्रुव गैडाज्यू, जुगल गाउँपालिका अध्यक्ष श्री रेशम स्याम्वोज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री किरण राणाज्यू, नेपाल प्रदेश प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ उपरीक्षक श्री किसन सिंह थापाज्यू, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक श्री बाल नरसिंह राणाज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मीज्यू, स्थानिय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो । साथै आन्तरिक मामिला तथा कानून मन्त्रीज्यूबाट नेपाल प्रहरीलाई शान्ति सुरक्षा अमन चयन कायम गर्न एवम् अपराध अनुसन्धान तथा रोकथामका लागि निरन्तर सहयोग गर्न तयार रहेको र आगामी दिनहरुमा पनि बिभिन्न प्राविधिक क्षेत्रमा समेत सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भई भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई प्रशंसा- पत्र समेत प्रदान गर्नु भएको थियो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<